शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुखुरापालन व्यवसायमा सफल झलारीका रेवन, उद्यमसँगै समाजसेवामा पनि सक्रिय

सोमबार, भदौ २ २०८२
कुखुरापालन व्यवसायमा सफल झलारीका रेवन, उद्यमसँगै समाजसेवामा पनि सक्रिय

पाँचसय कुखुराबाट सुरू गरेको व्यवसाय बिस्तारै बढ्दै गयो। आम्दानी बढेसँगै उनले चल्ला थप्दै लगे। यही आम्दानीबाट उनले चार कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गरे।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित छन्। लेयर्स जातका कुखुरापालनमा लागेका उनले महिनामै तीन लाख रूपैयाँभन्दा बढीका अण्डा बिक्री गर्छन्।

कामदार, कुखुराको चारो, औषधिलगायतको खर्च कटाएर चौधरीले महिनामा एक लाख रूपैयाँजतिको रकम आम्दानी गर्छन्। नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिकरूपमा कुखुरापालक किसानका रूपमा छन्। तीन दशकदेखि उनले व्यावसायिकरूपमा कुखुरापालन गर्दै आएका छन्। 

उनको जीवनयात्रा कहालीलाग्दो संघर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो। कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उनले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्छन्।

'त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउथ्यौँ, अर्को कोठामा कुखुरापालन हुन्थ्यो', उनी भन्छन्, 'बर्खा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौँ, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो।'

चौधरीको पुर्ख्यौली घर कृष्णपुर नगरपालिका-६, बालुवाफाँटा हो। अहिले पनि उनको त्यहाँ कमाइ खोने जग्गा छ। त्यो जग्गालाई उनले अधियामा खेती गर्नका लागि दिएका छन्। सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उनी परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुगेका हुन्। बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरू भएको उनी स्मरण गर्छन्। त्यही झुपडीमै विसं २०५६ मा कुखुरापालन व्यवसायको सुरुवात भयो।

देशमा संकटकाल घोषणा भएको बेलाको एउटा सम्झना चौधरीका लागि अझै पनि गहिरो छ। कुखुरापालनका लागि खर ल्याउन बेलडाँडी पुगेका उनी ट्रयाक्टरमा खरसहित झलारी फर्किँदै गर्दा सुरक्षाकर्मीले विद्रोही पक्षका लागि कार्य गर्न थालेको आशंकामा चालकलाई नियन्त्रणमा लिएका थिए।

'केही दिन प्रहरी चौकीकै चक्कर काट्नुपर्‍यो, धेरै हारगुहारपछि मात्रै चालक छुटाउन सक्यौँ', उनले भने। जस्तोसुकै समस्या आए कुखुरापालन भने उनले कहिल्यै छाडेनन्।

चौधरीको उद्यमशील यात्राको पहिलो पाइला ब्रोइलर कुखुराबाट सुरू भयो। पाँचसय कुखुराबाट सुरू गरेको व्यवसाय बिस्तारै बढ्दै गयो। आम्दानी बढेसँगै उनले चल्ला थप्दै लगे। त्यतिबेला झलारी बजारमा व्यावसायिकरूपमा ब्रोइलर पालन गर्ने उनीमात्रै एक्लै थिए। यही आम्दानीबाट उनले चार कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गरे।

सात वर्षसम्म ब्रोइलर कुखुरापालन गरेपछि चौधरीले लेयर्स कुखुरापालन गर्न थाले। आज उनीसँग दुई वटा फार्म छन्। त्यहाँ तीन हजारभन्दा बढी लेयर्स कुखुरापालन गरिएका छन्। कुखुरापालनका लागि चौधरीले ४० लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्।

दैनिक छदेखि आठ पेटी अण्डा उत्पादन हुन्छ, जसको मूल्य स्थानीय बजारमा प्रतिपेटी तीन हजार तीनसय रूपैयाँ पर्छ। महिनामा झन्डै तीन लाख रूपैयाँको अण्डा बिक्री हुन्छ भने दुई लाख रूपैयाँजति खर्च कटाएर पारिवारिक जीवन सहजरूपमा धानिएको छ। बिहान ५ बजेदेखि साँझ ढल्केसम्म परिवारका सबै सदस्य काममा खटिन्छन्।

उनकी श्रीमती पृथीदेवी चौधरी भन्छिन्, 'आम्दानी यहीबाट छ, त्यही भएर गाह्रो भए पनि मेहनत गर्नैपर्छ।' कुखुरापालनकै आम्दानीले चौधरीले छोरीलाई उच्च शिक्षासम्म पढाएर अहिले सरकारी सेवा प्रवेश गरेको उनी बताउँछन्। उनले छोरालाई १० लाख रूपैयाँ खर्च गरेर वैदेशिक रोजगारीका लागि युरोपको सर्विया पठाएका छन्। उनले अर्को छोरालाई पढाइपश्चात् पढाइ विवाह गरेर आफूसँगै व्यवसायमा संलग्न गराएका छन्।

दश वर्षका लागि भाडामा जग्गा लिएर चौधरीले तीन वर्षअघिदेखि बंगुरपालन व्यवसाय सुरु गरेका छन्। 'पहिलो वर्ष ४५ वटा बंगुर पाल्दा राम्रो आम्दानी भयो', उनले भने, 'त्यसको एक वर्षअघि महामारी फैलिएर धमाधम अन्य किसानका बंगुर मर्ने क्रम सुरु भएपछि ३१ वटा बंगुर बिक्री गरिदिए।' हाल फार्ममा ११ वटा मात्र बाँकी छन्। गतवर्ष मात्रै उनले दुई लाख २५ हजार रूपैयाँका पाठापाठी बिक्री गरेका थिए।

चौधरी केवल व्यवसायी मात्रै नभएर समाजसेवीका रूपमा चिनिन्छन्। उनले वेस नामक संस्थाको अध्यक्ष भएर दुई दशकभन्दा बढी समय समाजसेवामा सक्रिय भूमिका खेलेका छन्। आज उनले व्यवसायमै आत्मनिर्भर बनेर सन्तानलाई उज्ज्वल भविष्य दिन सकेका छन्। खरझुपडीमा बिताएका दिन उनको जीवनको एउटा अध्याय भए पनि आजको दृढता र लगनशीलताको जग त्यहीँबाट राखिएको कुरा उनी निर्धक्कसँग बताउँछन्। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend