आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मधेस प्रदेशको राजस्व संकलन बढ्यो, सात वर्ष यताकै सबैभन्दा बढी

सोमबार, भदौ २ २०८२
मधेस प्रदेशको राजस्व संकलन बढ्यो, सात वर्ष यताकै सबैभन्दा बढी

गत आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो।

महोत्तरी- मधेसमा राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो।

सात वर्ष पहिले आव २०७५/७६ मा दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को संकलन दोब्बर बढी भएको हो।

मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ। कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन्।

‘राजस्व संकलनमा यो उल्लेख्य प्रगति हो’  सचिव महतोले भने, ‘ यसले अब राम्रो लिक समातेको छ।’ यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्ष आगामी वर्षहरुमा राजस्व संकलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ। संकलन प्रक्रियालाई वैज्ञानिक रुपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend