आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

सोमबार, भदौ २ २०८२
सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र सवइन्जिनियर जगतबहादुर मल्ल विरुद्ध सात लाख ६ हजार सात सय ९९ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ।

सोरु गाउँपालिका-१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको थियो।

योजना सम्झौता बमोजिम जनश्रमदान तीन लाख ७३ हजार चार सय ३९ रुपैयाँ गरी सडक निर्माणको कूल लागत ४० लाख १३ हजार चार सय ३९ रुपैयाँ तय गरिएको थियो।

त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर सात लाख ६ हजार सात सय ९९ रुपैयाँ बराबर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र सवइन्जिनियर जगतबहादुर मल्ल विरुद्ध सात लाख ६ हजार सात सय ९९ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समान बिगो माग दाबी गरिएको छ।

अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend