आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

डोलवासीलाई बर्सेनि पहिरोकै चिन्ता

सोमबार, भदौ २ २०८२
डोलवासीलाई बर्सेनि पहिरोकै चिन्ता
फाइल तस्बिर

डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छ भने दुईसय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ।

बैतडी- हरेक बर्सातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका-६ डोलवासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।

हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए। 'बर्सात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ', उनले भने, 'पहिरोले चारैतिर जमिन बगाइसकेको छ। बस्ती जोखिममा छ। अन्त सरौँ आर्थिक अवस्था कमजोर छ। जोखिम मोलेर बसिरहेका छौँ।'

यहाँका धेरैले बसाइँसराइ सरिसकेका छन्। पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए। आर्थिक अवस्था कमजोर भएका २० परिवारमात्रै अहिले यहाँ बसोबास गर्छन्। 

स्थानीय भोजराज जोशीले भने, 'विसं २०१८ कै पहिराले हाम्रो गाउँका हरेक घर बांगा छन्। भित्रभित्रै जमिन भासिएपछि घरहरु बांगा भएका हुन्। पहिरोको जोखिममै बस्नु परिरहेको छ।'

डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छ भने दुईसय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ। पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगी दिएका स्थानीय बुढापाका बताउँछन्। तर राजनीतिक खिचातानी भएपछि अन्यत्र बसाइँ सर्ने सपना अधूरै रह्यो। आर्थिक अवस्था सबल भएका सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन्। तर गरिब र दलित समुदाय भने जोखिममै बस्न बाध्य छन्।

पहिरोले प्रत्येक वर्ष खानेपानीको मुहान बगाउँदै आएको छ। त्यसपछि धमिलो पानी प्रयोग गर्न बाध्य हुने गरेको स्थानीय बहादुर भुलले बताए। डोलबस्ती स्थानान्तरणका लागि कुनै पहल हुन सकेको छैन  यहाँको बस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने स्थानीयवासीको भनाइ छ। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend