आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

सोमबार, भदौ २ २०८२
स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए।

बलेवा- बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा अब्बल बनेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा नगरपालिका उत्कृष्ट बनेको हो। यसअघि स्थानीय तहको समग्र पक्षको मूल्यांकन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीयय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग गर्ने प्रणाली (एलईडी) को मूल्यांकनमा नगरपालिका अब्बल बनेको हो । 

'औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको छ', महाशाखा कँडेलले भने, 'सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनााउन सकेको छ।'

तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्यांकन प्रणाली (एलजी-पास) नामाकरण गरेको छ। उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ। जसअनुसार ५ शीर्षकमा दुई दर्जनबढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्यांकन गर्न थालेको हो।

सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्यांकन गर्न सुरु भएको उनले बताए।

तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन्। त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आईटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिए। मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ। देशभरमै पहिलोपटक बागलुङबाट थालिएको उनले बताए।

उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिनेगरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए। त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उनले बताए।

उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवर्द्धनलगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको जानकारी दिए। सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमासमेत भएको उनले बताए। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend