आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता, हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड

आइतबार, भदौ १ २०८२
परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता, हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड

परराष्ट्रमन्त्री आरजु राणाले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरिन्।

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। त्यस वार्ताका क्रममा नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा छलफल भएको थियो।

सो भेटका क्रममा मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्व दिँदै आएको बताउँदै नेपालको एक महत्वपूर्ण विकास साझेदारका रुपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन्।

त्यस अवसरमा मन्त्री डा राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरुका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक 'इंगेजमेन्ट’ बढेकामा पनि खुसी व्यक्त गरिन्।

मन्त्री डा राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्णरुपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरुको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिइन्।

साथै, उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरिन्। साथै नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो।

मन्त्री डा राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिइन्। यस भेटका क्रममा मन्त्री डा राणाले नेपाल-भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन्।

साथै पछिल्लो समयमा प्लाईउड, स्टिललगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरु र बीआईएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि कुरा उठाइन्।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषयमा पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा आपसमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा मन्त्री राणाले जोड दिइन्।


प्रकाशित : आइतबार, भदौ १ २०८२१८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend