आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

आइतबार, भदौ १ २०८२
पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो।

म्याग्दी- जिल्लाको रघुगंगा गाउँपालिका-७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एकसय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए।

उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उनले पात्लेखेत र पाखापानीमा एकसय परिवार यसबाट लाभान्वित हुने उल्लेख गरे। चिमखोला, नामीला टोलमा यसअघि केन्द्रीय लाइन पुगिसकेको छ।

यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए। ठेकेदार कम्पनी न्यू ढुंगाना निर्माण सेवाका सञ्चालक दिनेश ढुंगानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरिएको बताए।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रूपैयाँ बजेटको आयोजना सञ्चालन गर्दै आएको छ।

उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका-१ निस्कोट, मालिका-२ रुम, मालिका-३ डाडागाउँ, पात्ले, मालिका-४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५०, बुलका ४५ र चिउरीबोटका १३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिए।

धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटरबक्स जडान गर्न बाँकी रहेको उनले उल्लेख गरे।

'धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। यो ठेक्कामार्फत धवलागिरि-१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् विस्तार भइरहेको छ। अन्नपूर्ण गाउँपालिका-८ स्थित पर्यटकीयस्थल मोहरेडाँडामा पनि केन्द्रीय विद्युत् सुविधा पुर्‍याउने योजना छ', उनले भने। रासस


प्रकाशित : आइतबार, भदौ १ २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend