शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दैनिक १० हजार रूपैयाँभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

आइतबार, भदौ १ २०८२
दैनिक १० हजार रूपैयाँभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोबर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो स्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन्।

उदयपुर- सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित स्कुस दैनिक १० हजार रूपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ।

खाँबुका स्कुस उत्पादक किसान टंकबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित स्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो। 

खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट स्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक १० हजार रूपैयाँभन्दा बढीको बिक्री सुरु गरेको बताए। साउन अन्तिम सातासम्ममा दैनिक १० देखि २० हजार रूपैयाँसम्ममा स्कुस गाउँघरबाट बिक्री हुन थालेको उनले जानकारी दिए।

गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा स्कुस प्रतिकिलो ३० रूपैयाँदेखि ४० रूपैयाँ पर्ने गरेको जनाउँदै व्यापारीले ६० रूपैयाँ प्रतिकिलोका दरले बिक्री गर्दै आएका छन्।

अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोबर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो स्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन्।

गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भनिन्, 'व्यापारीले जिल्ला बाहिरबाट सडेगलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अर्गानिक स्कुस किनेर खान पाइएका छौँ। यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ।'

उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको स्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन्। 

प्रत्येक वर्ष यस क्षेत्रमा उत्पादित स्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिए। गत वर्ष भदौभरि आफूले लाखौँको स्कुस बिक्री गरेको बताउँदै उनले यसपटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गरे।

त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका स्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्लाबाहिर सप्तरीको राजबिराज, सिरहाको लाहानसम्म बिक्री हुने गरेको स्कुस उत्पादक किसानहरू बताउँछन्। एक सिजनमा कसैकसैले ५० हजार रूपैयाँदेखि तीन लाख रूपैयाँसम्मको स्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन्। रासस


प्रकाशित : आइतबार, भदौ १ २०८२११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend