आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री

आइतबार, भदौ १ २०८२
नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्।

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ', प्रधानमन्त्री ओलीले भनेका छन्। उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो। जसअनुसार संघीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ र बाहिरिँदा ६० रूपैयाँ तिर्नुपर्नेछ।

साथै, मिनिबस र मिनीट्रकलाई राजधानी आउँदा ११५ रूपैयाँ र बाहिरिँदा ८०, बस र ट्रकले आउँदा २६० रूपैयाँ र फर्कँदा २०० रूपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ।

कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन्। सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १ २०८२११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend