काठमाडौं- गत बैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्। ती घटनामा परेर एकसय २६ जनाको निधन भएको छ। यस्तै पाँचसय ८५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन्। देशभर बाढीका दुईसय १६, पहिरोका तीनसय १७, भारी वर्षाका दुईसय २१, चट्याङका दुईसय ४५, सर्पदंशका ७७ घटना घटेका छन्।
त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एकसय ५८, हुरीबतासका दुईसय ७७, जनावर आक्रमणका एकसय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक-एकवटा विपद्का घटना घटेका छन्।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन्। विपद्मा परेर एक जनाको ज्यान गएको छ। अनुमानित क्षति ३८ लाख ४० हजार रूपैयाँबराबर भएको छ।
विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एकसय ४० प्रहरी परिचालन गरिएको छ। रासस