काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरकिएकाले नेपालमा मनसुन केही कमजोर भएको जनाएको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार देशभर सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशको तराई तथा पहाडी भू–भाग र अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।
सोहीगरी, मधेस प्रदेशसहित कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस