आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हेवा खोलामा नेपालमै पहिलो पटक सबैभन्दा लामो ‘मोडुलर बेलिब्रिज’ जडान

शनिबार, साउन ३१ २०८२
हेवा खोलामा नेपालमै पहिलो पटक सबैभन्दा लामो ‘मोडुलर बेलिब्रिज’ जडान

हेवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो।

पाँचथर- यहाँको हेवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो।

सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन्। आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए।

उनका अनुसार हेवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो। बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ। निर्माण कम्पनी ले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो।

तर बेलिब्रिज जडान अन्तिम चरणमा पुगेका समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो। यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनीलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो।

भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका हुन्। बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो।

भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको लन्चिङ सेट र पुल जडान गर्न इन्जिनियर तथा प्राविधिक रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान सम्पन्न गरेको डिभिजन कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए।

मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो। पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो। तर उक्त बेलिब्रिजसमेत २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए।

वर्षायाम सुरु भइसकेकाले बाढीले पटक-पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको कामसमेत निरन्तर चलाएको थियो। नयाँ बेलिब्रिज जडानपछि हेवा खोला उत्तरका नागरिकले तीन वर्षदेखि वर्षायाममा भोग्दै आएको सास्ती हट्ने आशा पलाएको पाँचथरको हिलिहाङका वीरेन्द्र मङ्ग्रातीको भनाइ छ।

यस पटक बेलिब्रिज जडानसँगै सडभ विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी १० दिने प्रयोगात्मक तालिमसमेत सञ्चालन गरेको थियो। तालिममा सडक विभागका इन्जिनियर, सबइन्जिनियर, मेकानिक र अपरेटर गरी ३२ जनाले सहभागिता जनाएका थिए। रासस


प्रकाशित : शनिबार, साउन ३१ २०८२१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend