आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पर्सामा अनुचित लेनदेनसम्बन्धी एक हजार ६८९ उजुरी टुंग्याइयो

शुक्रबार, साउन ३० २०८२
पर्सामा अनुचित लेनदेनसम्बन्धी एक हजार ६८९ उजुरी टुंग्याइयो

'यसअघि जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुंगो लगाएको थियो, प्रहरीले भने एक हजार ४६७ उजुरी टुंगो लगाएको छ।'

वीरगञ्ज- पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६८९ उजुरी मेलमिलापमार्फत मुद्दा टुंग्याइएको छ। साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३५८ उजुरी परेका थिए। सोमध्ये चालु आवको साउन २८ गतेसम्मको अवधिमा भने ६३७ मात्रै उजुरी फर्छ्यौट गर्न बाँकी छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आएकामध्ये एक हजार ६८९ थान उजुरी मेलमिलापमार्फत टुंगो लगाएको जानकारी दिए।

यसअघि जिल्ला प्रशासनबाट एक हजार ७२९ मिटर ब्याजसम्बन्धि उजुरी आएका थिए, यहाँको प्रहरी कार्यालयमा पनि छुट्टै ६२९ उजुरी दर्ता भएका थिए। उनले भने, 'यसअघि जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुंगो लगाएको थियो, प्रहरीले भने एक हजार ४६७ उजुरी टुंगो लगाएको छ।'

सूचना अधिकारी लम्सालले मिटरब्याजसँग सम्बन्धित ३२ मुद्दा अदालतमा दर्ता भएको जानकारी दिए। यहाँ मिटरब्याजसम्बन्धी कसुरमा १५ पुरुष र दुई महिला गरी १७ जना पक्राउ परेका छन्। पर्सामा मेलमिलापको बिगो भने रु २८ करोड ५९ लाख ५५ हजार ५५७ रहेको छ। पर्सा प्रहरीले ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराएको छ।

सूचना अधिकारी लम्सालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएको बताए। 'यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैले लिने गर्थ्यो', उनले भने, 'कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालयबाट टुंगो लगाउँदै आइरहेका छौँ।' 

उनले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुंगो लगाउने प्रयास भइरहेको बताए। 'पछिल्लो समय पीडकले अदालतबाट पक्राउपुर्जीविरुद्धको निषेधाज्ञा लिएर बस्ने भएकाले पनि पक्राउ गर्न अप्ठ्यारो भइरहेको छ', उनले भने।

जिल्ला प्रहरी कार्यालयमा २०८१ फागुन १ गतेदेखि अनुचित लेनदेनका उजुरी दर्ता गर्न थालेको हो। रासस


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend