शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

शुक्रबार, साउन ३० २०८२
भोजपुरका किसानलाई कोदो रोप्न चटारो

बर्सात भएपछि किसान कोदोखेतीमा जुटेका हुन्। कोदो स्थानीय बजारमा प्रतिकिलो ५० देखि ६० रूपैयाँका दरले बिक्री हुने गरेको छ।

भोजपुर- यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन्। यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रुपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन्। कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौवटै स्थानीय तहमा खेती हुने गरेको छ।

यस वर्ष समयमा बर्सात नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन्। बर्सात भएपछि किसान कोदोखेतीमा जुटेका हुन्। कोदो स्थानीय बजारमा प्रतिकिलो ५० देखि ६० रूपैयाँका दरले बिक्री हुने गरेको छ।

रैथाने बालीका रुपमा रहेको कोदोबाली प्रवर्द्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताए।

'व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन त छैन', उनले भने, 'आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।'

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्ठान्न परिकार बनाउन प्रयोग गरिन्छ। गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष पनि सोही हारहारीमा खेती हुने आकलन रहेको केन्द्रको भनाइ छ।

श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन्। कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend