आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दायाँ र बायाँ सुकेका रुख, जोखिमपूर्ण बन्यो वनसमिति-कसरौल सडक

शुक्रबार, साउन ३० २०८२
दायाँ र बायाँ सुकेका रुख, जोखिमपूर्ण बन्यो वनसमिति-कसरौल सडक

सुकेका रुखहरुकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने वनसमिति-कसरौल सडक जोखिमपूर्ण रहेको छ। सडकको दायाँ र बायाँ सुकेका साल, असनाका रुखका कारण जोखिम रहेको छ।

जुनसुकै बेला गुडिरहेका सवारीसाधन र पैदलयात्रुमाथि रुखका हाँगा र रुख नै खसेर दुर्घटना निम्तिनसक्ने खतरा रहेको छ। स्थानीय रतनलाल रानाका अनुसार सडकमा पैदल हिँड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगाले लागेर केही वर्षअघि मृत्यु भएको थियो।

विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमाथि सुकेको रुख खसेको थियो। बसमाथि रुख खसे पनि मानवीय क्षति भने नभएको उनी बताउँछन्। 'स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि नै रुख खस्यो', उनले भने, 'गोठमा क्षति पुग्यो, तर बस्तुभाउ जोगिए, गत वर्षमात्रै दानु रानाको घरको कुना तोड्दै रुख खस्यो, धन्न घर जोगियो घरभित्रै परिवारका सदस्य थिए, सबै जोगिए।'

सुकेका रुखहरुकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनुपर्ने अवस्था रहेको उनी बताउँछन्। पुराना सुकेका जीर्ण भएका रुख जुनसुकै बेला पनि खस्नसक्ने भएकाले हटाउनुपर्ने पूर्ववडाध्यक्ष जगता रानाले बताए।

'विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको छ', उनले भने, 'हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षात्का बेला ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता छ, यसक्षेत्र भएर जाने अर्को वैकल्पिक सडक छैन, जोखिमसँगै हिँड्नुपर्छ।'

उनका अनुसार सडक छेउमा घर भएकाले रुख कुनबेला खस्ने हुन् पत्तो नै छैन। सडक छेउका जीर्ण रुख व्यवस्थापन गरिदिनका लागि उनी माग गर्छन्।

स्थानीय जहरसिंह रानाले भने, 'गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना छ, पैदल यात्रुको टाउकामा कुनबेला रुखका हाँगा र रुख नै बजारिने हो पत्तो छैन, हावाहुरी चलेका बेला त्यस सडक भएर हिँड्नु भनेको ज्यान जोखिममा पार्नु हो, त्यही भएर बर्सात र हावाहुरीका बेला त्यो सडक भएर हिँड्न नै छाड्छौँ।' 

वनसमितिदेखि कसरौलसम्मको डेढ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयले तीन करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर दिपक धाँमीले बताए। 'सुकेका जीर्ण रुख व्यवस्थापन नभइ कार्य सञ्चालन गर्न कठिन छ', उनले भने, 'सडक स्तरोन्नतिदेखि कालोपत्रसम्मका लागि वातावरण अध्ययन र डीपीआर निर्माणको कार्य भएको छ, सुकेका रुख काट्ने अनुमति अहिलेसम्म पाइएको छैन।'

अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उनले जानकारी दिए। वडाध्यक्ष दानसिंह ऐरका अनुसार वनसमिति-कसरौल सडक वडा नं ६, ७ र ८ तर्फ जाने मुख्य सडकका रुपमा रहेको छ।

वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानीलगायत कार्यालय जाने मुख्य सडक त्यही नै रहेको छ। 'सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेका छौँ', उनले भने, 'वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकनको कार्य गरिसकेको छ, समस्या लिएर मन्त्रालयसम्म पुगेका छौँ।'

उनका अनुसार सडक छेउका १०५ रुख हटाउनुपर्ने देखिएको छ। त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गरेको छ। स्थानीयले तत्काल असुरक्षित रुख काटेर हटाउनुपर्ने, सडक कालोपत्रसँगै चौडाइ बढाउन माग गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend