शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महोत्तरीमा ७० प्रतिशत रोपाइँ, ढिलो सुरु हुँदा धान उत्पादनमा ह्रास आउनसक्ने

बिहीबार , साउन २९ २०८२
महोत्तरीमा ७० प्रतिशत रोपाइँ, ढिलो सुरु हुँदा धान उत्पादनमा ह्रास आउनसक्ने

यस वर्ष समयमा पानी नपर्दा धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

महोत्तरी- महोत्तरीमा यस वर्ष ढिलो गरी धान रोपाइँ सुरु भए पनि किसानले धमाधम रोपाइँ गरेपछि अहिले जिल्लाको ७० प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।

साउनको दोस्रो साता (साउन १५) बितिसक्दा पनि जिल्लामा पानी नपर्दा रोपाई सुरु नभइ खडेरीको अवस्था सिर्जना भइसकेको अवस्थामा एक्कासी ३/४ दिनसम्म लगातार पानी परेपछि किसानले रोपाइँ सुरु गरेकामा अहिले जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए।

जिल्लामा लामो समयसम्म पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानहरु चिन्तित भइरहेको अवस्थामा प्रधानमन्त्री केपीशर्मा ओलीले गत साउन ९ गते जिल्लाको मटिहानी नगरपालिकामा पुल उद्घाटन र प्रसुति गृह उद्घाटन गर्न आएका बेला यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा र तत्काल ५०० डीप बोरिङ जडानका लागि सम्बन्धित निकायलाई आदेश दिएर गएका थिए।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको खडेरीको अवस्थालाई हेलिकप्टरबाट निरीक्षणसमेत गरेर गएको एक सातापछि नै जिल्लामा पानी पर्न सुरु भएको थियो भने त्यसपछि यहाँका किसानले ढिलै भए पनि रोपाइँ सुरु गरेका थिए।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यस वर्ष ४० हजार हेक्टर जग्गामा धानखेती हुने अनुमान गरिएको छ। 

कृषि ज्ञान केन्द्रका प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानहरुले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवा र स्यालो ट्युबेलको सहयोगमा यसअघि धेरैथोरै रोपाइँ गरे पनि जिल्लाभरि साउन १५ पछि पानी पर्दा मात्रै रोपाइँ भएकोे थियो।

कार्यालय प्रमुख रायले साउन १५ गतेसम्म पनि जिल्लामा पानी नपर्दा किसानले खेतमा लगाएको धानका बेर्ना बुढो भइसकेको अवस्थामा एक्कासी जिल्लामा ३/४ दिनसम्म परेको पानीले यहाँका किसानहरुका लागि वरदान साबित भएको थियो र किसानले धमाधम रोपाइँ गरेर अहिले ७० प्रतिशत जग्गामा धानबाली लगाइसकेको बताए। जिल्लाका विभिन्न पालिकाका विभिन्न गाउँ टोलमा अझै पनि धान रोपाइँ जारी रहेकाले यो प्रतिशत अझै बढेर जाने कार्यालय उनले बताए।

उनले यहाँका किसानहरुले भदैया, हर्दिनाथ, मुसलिम, कतरनी, बासमती जातका धानले खेत रोपाइँ गरेको बताए।

गत वर्ष समयमा पानी पर्दा जिल्लाको कुल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष समयमा पानी नपर्दा धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend