आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नागढुंगा सुरुङ मार्गमा चल्ने सवारीसाधनका लागि तोकियो शुल्क, कुनलाई कति?

बिहीबार , साउन २९ २०८२
नागढुंगा सुरुङ मार्गमा चल्ने सवारीसाधनका लागि तोकियो शुल्क, कुनलाई कति?

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आउँदो पुस अन्तिम साता या माघ पहिलो सातासम्म सवारीसाधन सञ्चालन गर्ने सरकारको तयारी छ।

काठमाडौं- सरकारले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारीसाधनका लागि शुल्क तोकेको छ।

मन्त्रिपरिषद्‍ बैठकले तोकेको नागढुंगा सुरुङमार्गको उपभोग दस्तुरअनुसार कार/भ्यानहरूको काठमाडौं आउँदा ६५ र बाठमाडौंबाट बाहिर जाँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। 

मिनी बस/ट्रकको काठमाडौं आउँदा १ सय १५ र काठमाडौंबाट बाहिर जाँदा ८० रुपैयाँ, बस/ट्रकको काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र काठमाडौंबाट बाहिर जाँदा २ सय रुपैयाँ तिर्नुपर्छ। 

यस्तै भारी उपकरणको हकमा काठमाडौं आउँदा ६ सय रुपैयाँ र काठमाडौंबाट बाहिर जाँदा २ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्ने जनाइएको छ। 

सडक विभागले सुरुङ सञ्चालन खर्चअनुसार शुल्क प्रस्ताव गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो। मन्त्रालयले शुल्कको प्रस्ताव सडक बोर्ड नेपालमा पठाएको थियो। बोर्डले शुल्क स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएअनुसार शुल्क तोकिएको हो।

shulka.jpg

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि जारी भइसकेको छ। निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारीसाधन र नन-मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिने जनाइएको छ।

१८ मिटर लम्बाइ वा २.५ मिटर चौडाइभन्दा ठूला सवारीसाधन सुरुङभित्र चलाउन नपाइने उल्लेख गरिएको छ। मालवाहक सवारीको भारबहन नियमन निर्देशिका, २०७४ र सडक विभाग तथा यातायात व्यवस्था विभागबाट जारी भारबहनसम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई सुरुङमार्गमा निषेध गरिएको छ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आउँदो पुस अन्तिम साता या माघ पहिलो सातासम्म सवारीसाधन सञ्चालन गर्ने सरकारको तयारी छ। 

वि.सं. २०७७ कत्तिकमा जापानिज कम्पनी ‘हाजमा एण्डो कर्पोरेसन’सँग निर्माण सम्झौता हुँदा सुरुङमार्ग निर्माणकाे म्याद ४२ महिना थियो तर कोरोना संक्रमण, स्थानीयको अवरोध तथा अन्य कारणले दुईपटक म्याद थप गरेर सन् २०२५ अक्टोबर २५ सम्मको म्याद छ।

सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग १६ अर्ब रुपैयाँ ऋण लिएर बनाएको सुरुङ निर्माणमा कुल २२ अर्ब रुपैयाँ खर्च हुने छ। आयोजनामा ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ। 

सुरुङ निर्माण गरिरहेको कम्पनी हाजमा एण्ड कर्पोरेसन हो भने परामर्शदातामा ‘निप्पोन कोही’सहित तीनवटा नेपाली कम्पनी संलग्न छन्।

नागढुंगामा २०८० साउनमा आपतकालीन उद्धार सुरुङ छिचोलिएको थियो भने मुख्य सुरुङ २०८१ बैशाख ३ गते छिचोलिएको थियो।

२ हजार ६ सय ८८ मिटर लम्बाइको नागढुंगा सुरुङमार्गले थनाकोटको जाममा बस्नु पर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा छ। सुरुङमार्गबाट दुई मिनेटमा यात्रा गर्न सकिने आयोजना कार्यालयले जनाएको छ। जसका कारण करिब २५ मिनेट यात्राअवधि छाेटिने छ।

नागढुंगा सुरुङ मार्गमा प्रतीक्षाको अन्तिम घडी नागढुंगा सुरुङ मार्गमा प्रतीक्षाको अन्तिम घडी


प्रकाशित : बिहीबार , साउन २९ २०८२१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend