आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एमसीसी पुन: सक्रिय, अघि बढ्यो निर्माण सम्झौता

विद्युत् प्रसारण आयोजना अगाडि बढाउन प्रमुख दुई सम्झौतामा हस्ताक्षर

बिहीबार , साउन २९ २०८२
एमसीसी पुन: सक्रिय, अघि बढ्यो निर्माण सम्झौता

संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिने जनाइएको छ।

काठमाडौं- अमेरिकी सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र साझा प्रतिवद्धताका साथ मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल) ले नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा आज दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ।

यसले नेपालमा सञ्चालन भइरहेका पूर्वाधार निर्माणसम्बन्धी साझेदारीमध्ये एउटाका रूपमा रहेको एमसीसी नेपाल कम्प्याक्टको सफल कार्यान्वयनप्रति दुवै सरकारको प्रतिवद्धताको पुष्टि गरेको एमसीए नेपालले जनाएको छ।

एमसीए-नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइवा सलासर संयुक्त उपक्रमसँग गरेको छ।

संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिने जनाइएको छ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसीए-नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरे। 

'यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनःपुष्टि गरेको छ', एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विष्ङ्गलले भने, 'नेपालमा विजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।'

यस्तै कार्यकारी निर्देशक खड्कबहादुर विष्टले परियोजना समयमै सम्पन्न गर्नेगरी काम गरिने बताए।

नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कपरिशनको सह-लगानीमा कार्यान्वयन गरिने कार्यक्रमको जिम्मेवार निकायका रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल बैशाख ५ गते एमसीए नेपाल स्थापना गरेको हो।


प्रकाशित : बिहीबार , साउन २९ २०८२१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend