शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गाउँमै ‘प्याकेज’ रोपाइँ : खेत बाँझिन नदिने पौरखी किसानको पहल

बिहीबार , साउन २९ २०८२
गाउँमै ‘प्याकेज’ रोपाइँ : खेत बाँझिन नदिने पौरखी किसानको पहल

बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती, उनकी श्रीमती देवी घर्ती र अमरबहादुर थापाले खेत बाँझिन नदिन ‘प्याकेज’ रोपाइँ सेवा सुरु गरेका छन्।

गलकोट- बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती, उनकी श्रीमती देवी घर्ती र अमरबहादुर थापाले खेत बाँझिन नदिन ‘प्याकेज’ रोपाइँ सेवा सुरु गरेका छन्।

गाउँको करिब १ हजार ५०० रोपनी रोपाइँयोग्य जमिन बाँझिन थालेपछि उनीहरूले प्रतिरोपनी ३ हजार २६६ रूपैयाँमा ठेक्कामा रोपाइँको जिम्मा लिने व्यवस्था थालेका हुन्। यस अन्तर्गत खेतालो खोज्ने, ब्याडबाट बिउ ल्याउने, गोरु–ट्र्याक्टरको व्यवस्था गर्ने लगायत सम्पूर्ण काम उनीहरूले नै गर्छन्। यसबापत जग्गाधनीले अग्रिम रकम भुक्तानी गर्नुपर्छ।

गत असार महिनामा घर्ती दम्पतीले १८९ रोपनीमा रोपाइँ गरी ६ लाख १७ हजार ४०० रूपैयाँ आम्दानी मात्र गरेनन्, १० जनालाई रोजगारीको अवसर पनि उपलब्ध गराए। त्यस्तै, अमरबहादुर थापाले सोही अवधिमा १८६ रोपनी खेत रोपेर ६ लाख ७ हजार ६०० रूपैयाँ कमाए र १० जनालाई एक महिना रोजगारी दिए।

उनको यो पहलबाट बाँझो खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले सम्मान गर्ने निर्णय गरेको छ। साथै, खेत जोत्न सहज होस् भनेर वडाले घर्तीलाई एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ।

बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, 'प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ। जग्गाधनीलाई खेताला खोज्ने, खाना–पानी, गोरु वा ट्र्याक्टरको व्यवस्था गर्ने झन्झट परेन। रकम भुक्तानी भए खेत रोपियो।' रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend