आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पर्यटन प्रवर्द्धनका लागि कृष्णपुरको सामुदायिक वनमा स्थानीय शैलीको पाहुना घर निर्माण

बुधबार, साउन २८ २०८२
पर्यटन प्रवर्द्धनका लागि कृष्णपुरको सामुदायिक वनमा स्थानीय शैलीको पाहुना घर निर्माण

स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने योजना छ।

कञ्चनपुर- पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका-६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ। नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो।

पाहुना घर निर्माणका लागि नगरपालिकाबाट तीन लाख रूपैयाँ र सामुदायिक वनबाट सात लाख रूपैयाँभन्दा बढी रकम खर्च गरिएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिए। उनका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ। 'प्रत्येक कोठामा दुई शय्यासहित अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ। दुई महिनाभित्र घर सम्पन्न गर्ने लक्ष्य लिइएको छ', उनले भने।

निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने चौधरीले बताए। पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकारका खाना पस्किने योजना रहेको उनको भनाइ छ।

'पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ', अध्यक्ष चौधरीले भने, 'अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिने छौँ।' उनका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ।

पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, ६ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनःउत्पादन प्लट, १६ कट्टाको पोखरीमा डुंगा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए। यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने उनले विश्वास व्यक्त गरे। 

सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना बनाइएको बताउँदै चौधरीले चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

सामुदायिक वनलाई पर्या-पर्यटनसँग जोडेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले थालिएको पाहुना घर निर्माण शीघ्र सम्पन्न भइ सञ्चालनमा आउने कृष्णपुर-६ का वडाध्यक्ष बाबुराम चौधरीले बताए। पाहुना घर निर्माणका लागि वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने उनले प्रतिबद्धता जनाए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend