आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

१४ वर्षमा पनि बनेन कमलामा पुल, वर्षायाममा सिरहा र धनुषाका सर्वसाधारण प्रभावित

बुधबार, साउन २८ २०८२
१४ वर्षमा पनि बनेन कमलामा पुल, वर्षायाममा सिरहा र धनुषाका सर्वसाधारण प्रभावित

नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुंगा प्रयोगको प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० रूपैयाँ तिर्नुपर्ने बाध्यता छ।

सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ। तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन्। उनीहरूको एकमात्र सहारा डुंगा बनेको छ।

सिरहा नगरपालिका-५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन्। हरेक वर्षासँगै डराइडराइ नदीपार गर्नुपर्ने उनको दैनिकी छ। 'पानी बढेपछि डुंगा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन', उनले भने। 

सामान्यतया वर्षायामबाहेक अरुबेला काठको सानो पुल प्रयोग हुने गरेको थियो। तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुंगामात्रै एक विकल्प बनेको छ। नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुंगा प्रयोगको प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० रूपैयाँ तिर्नुपर्ने बाध्यता छ।

कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ। सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ।

प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ। नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ।

सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुंगाबाट नदीपार गर्नुपर्ने अवस्था छ। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend