आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

फूल उत्पादन बढेसँगै आयातमा कमी, निर्यातमा वृद्धि

मंगलबार, साउन २७ २०८२
फूल उत्पादन बढेसँगै आयातमा कमी, निर्यातमा वृद्धि

पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने अनुमान छ।

काठमाडौं- अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख रूपैयाँ बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाख रूपैयाँको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ।

पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १५ करोड रूपैयाँले आयातमा कमी आएको छ। अध्यक्ष श्रेष्ठका अनुसार आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु नै हो।

यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख रूपैयाँ बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा दुई करोड १३ लाख रूपैयाँको फूल निर्यात भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

यसरी फूल निर्यात हुने जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा निर्यात हुने गरेको छ। हरेक वर्ष तिहारमा प्रयोग हुने मखमली फूल र प्रणय दिवसका लागि रातो गुलाफ आयात गर्ने गरिएको छ।

पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने अनुमान छ। हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिकरुपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्णरुपमा फूल आयातमा रोक्न नसकिएको बताइएको छ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।

व्यावसायिकरूपमा ५१ हजार ५० जना यस व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहभागी बनेका छन्। लगभग २२१ हेक्टर क्षेत्रफलमा यो व्यवसाय सञ्चालनमा हुँदै आएको छ। यस व्यवसायको वार्षिक लक्ष्य भने तीन अर्ब रूपैयाँभन्दा बढी रहेको छ। फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २७ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend