आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

मंगलबार, साउन २७ २०८२
बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ।

भोजपुर- बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ। वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो।

बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन्। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजंगल आसपास बस्तीका किसान समस्यामा परेका हुन्। मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन्।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ।

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई-६ का स्थानीय राजेन्द्र राईले बताए। बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उनको भनाइ छ। 'हामी किसानको प्रमुख समस्या नै बाँदर बनेको छ', उनले भने, 'वर्षभरि दुःख गरेर उत्पादन गरेको कमाइ छिनभरमा सखाप पार्ने भएकाले गाउँघरमा बस्न सक्ने अवस्था छैन। बाँदरका कारण बर्सेनि बस्ती खाली हुँदै गएको छ।' 

भोजपुर नगरपालिका क्षेत्रमा बादर आतंक बढेकाले बस्ती खाली बन्दै गएको स्थानीयवासी कमल तामाङले बताए। बाँदरले खेतमा पसेर भर्खर रोपेको धानको गुबो नै नष्ट गरिदिने गरेको उनको भनाइ छ। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय तल्लो क्षेत्रका स्थानीयले गाउँ नै छाड्न थालेका छन्।

'बाँदरले गाउँघरमा सहजरूपमा उत्पादन गरेर खाने अवस्था छैन', उनले भने, 'वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव छैन।'

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले स-साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्। बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको किसानले बताएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन २७ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend