आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन कञ्चनपुरको लालझाडी अस्पताल

सोमबार, साउन २६ २०८२
बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन कञ्चनपुरको लालझाडी अस्पताल

स्थानीय तहमा सुविधासम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ।

भीमदत्तनगर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन। पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन।

विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए। सोही कार्यक्रमअन्तर्गत लालझाडी-३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो। करिब ६ करोड रूपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएको हो।

'बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ', लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने। स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न संघीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ।

सो स्थानीय तहमा सुविधासम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ। लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए। उनका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ।

'अस्पताल सञ्चालका लागि हामीले अघिल्लो वर्ष नै पाँचजना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ', उनले भने, 'यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न ८० लाख रूपैयाँ विनियोजन गरेको छ।' रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend