आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सामुदायिक वन समन्वय समितिको कार्ययोजना : संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

सोमबार, साउन २६ २०८२
सामुदायिक वन समन्वय समितिको कार्ययोजना : संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

योजना सफल कार्यान्वयन भएमा कञ्चनपुरको सामुदायिक वन क्षेत्र संरक्षण र आर्थिक सशक्तीकरणको नमूना बन्ने अपेक्षा गरिएको छ।

कञ्चनपुर- सामुदायिक वन समन्वय समितिले आव २०८२/८३ का लागि वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। समितिले वन संरक्षण र जैविक विविधता संवर्द्धनसँगै उपभोक्ताको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ।

समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार योजनाअन्तर्गत वनमा आश्रित जनताको निर्भरता घटाउन वैकल्पिक आयआर्जनका कार्यक्रम विस्तार गरिनेछ। 'वन जोगाउन आर्थिक विकल्प दिनु जरुरी छ', उनले भने, 'त्यसैले यस वर्षको योजना दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढाइनेछ।' 

कार्ययोजनामा डढेलो नियन्त्रण, खुला चरिचरण व्यवस्थापन, बधुवा पशुपालनमा सहयोग, घाँस-चारा उत्पादन र भकारो सुधारजस्ता गतिविधि समावेश छन्। चोरी-शिकारी नियन्त्रण दल परिचालन, गस्ती व्यवस्था, सदस्यहरूको दुर्घटना बीमा, मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेसवायर र विद्युतीय तारवार जडान, वन्यजन्तु उद्धार र राहत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष जोशीले बताए।

'घोलमुहान निर्माण तथा मर्मत, पानी मुहान संरक्षण, घाँसे मैदान व्यवस्थापन, निजी वन प्रवर्द्धन, बहुवर्षीय नर्सरी सञ्चालन, भू-क्षय नियन्त्रण, जैविक तटबन्ध, नदी उकास र नदी तटीय वन संरक्षणजस्ता योजना अघि बढाउने योजना बनाएका छौँ', उनले भने, 'नदी किनारमा वेत, बाँस, भेटिवर घाँस र अम्रिसो रोपणमार्फत जलवायु न्यूनिकरणमा योगदान पुर्‍याउन कार्यक्रम सञ्चालन गर्छौँ।'

चुरे क्षेत्रका पानी मुहान संरक्षण, सरोकारवालासँग समन्वय बैठक र विशेष कार्यक्रम सञ्चालन पनि यस वर्षको योजनामा रहेको उनले जानकारी दिए। समितिले १५ सामुदायिक वनको कार्ययोजना नवीकरणमा सहयोग कार्यक्रम कार्ययोजनामा समावेश गरेको छ।

उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउन दुना-टपरी, मसाला, होजियारी, अम्रिसो झाडु, बेत-बाँस र फर्निचर उद्योग सञ्चालन गर्ने योजना बनाइएको उल्लेख गर्दै अध्यक्ष जोशीले यसका लागि स्थानीय तहसँग साझेदारी गर्ने योजना रहेको बताए।

उनका अनुसार वैकल्पिक कृषि उद्यमअन्तर्गत कागतीखेती, स्थानीय जातका कुखुरापालन र माछापालन प्रवर्द्धन गरिनेछ। समितिले आफ्नो दिगो आम्दानीका लागि विभिन्न प्रजातिका फलफुल, सजावटी तथा सौन्दर्य प्रयोजनका बिरुवा उत्पादन गरी बिक्री गर्नेछ। बहुवर्षीय नर्सरी व्यवस्थापनमार्फत यो प्रक्रिया स्थायी बनाइनेछ।

पर्यटन प्रवर्द्धनका लागि विजयसाल घरवास (होमस्टे) व्यवस्थापन तथा सिस्ने सिमसार क्षेत्रमा अवलोकन पूर्वाधार निर्माणमा सहयोग पुर्‍याइने समन्वय समितिका टोली प्रमुख शिवदत्त पन्तले बताए। 'कार्ययोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रयोगमा विद्युत् चुलो र गोबर ग्याँसका लागि सहयोग तथा मर्मतका कार्यक्रम सञ्चालन हुन्छन्', उनले भने, 'अपांगता भएका व्यक्तिलाई सहयोग कार्यक्रम निरन्तरता अघिल्ला वर्षझैँ दिन्छौँ।' 

लोपोन्मुख विजयसालको संरक्षण, संकटापन्न जीवजन्तु प्रजातिको संरक्षण तथा वन्यजन्तु उद्धार केन्द्र सञ्चालन पनि यस वर्षको योजनामा प्रमुख रूपमा समावेश गरिएको उनले जानकारी दिए। 'यो योजना कागजमा मात्र सीमित हुँदैन, हामी यसलाई गाउँको आँगनदेखि जंगलको पातसम्म कार्यान्वयनमा ल्याउनेछौँ', उनले भने।

समितिका अनुसार योजना सफल कार्यान्वयन भएमा कञ्चनपुरको सामुदायिक वन क्षेत्र संरक्षण र आर्थिक सशक्तीकरणको नमूना बन्ने अपेक्षा गरिएको छ। समन्वय समितिमा लालझाडी संरक्षण क्षेत्रअन्तर्गतका ९१ सामुदायिक वन आबद्ध रहेका छन्। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend