आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

सोमबार, साउन २६ २०८२
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिकरूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

तनहुँ- यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ। ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना बनाएको हो। 

कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजनाअन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। इलामको रोङ गाउँँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढंगले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए।

गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ। जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उनले जानकारी दिए।

उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ। किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ।

'गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ', उनले भने, 'हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ।'

भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिकरूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend