आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, साउन २६ २०८२
मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर वर्षाको क्रियाकलाप सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर र बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ७० मिलिमिटर, सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर र रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको छ। अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र मधेश प्रदेशसहित बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी प्रदेशको पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रासस

 


प्रकाशित : सोमबार, साउन २६ २०८२०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend