आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

भारतबाट अवैधरूपमा माछा आउँदा कैलालीका व्यावसायिक किसान मारमा

आइतबार, साउन २५ २०८२
भारतबाट अवैधरूपमा माछा आउँदा कैलालीका व्यावसायिक किसान मारमा

यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्।

कैलाली- खुला सिमानाकाबाट अवैधरूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्। यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्।

यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका-५ गोबरेलाका कृषक सनोज चौधरीले बताए।

‘बाहिरबाट भित्रिने माछाका कारण हामीले चाहेको मूल्यदरमा बिक्री गर्न सकिरहेको छैनौँ, यसले व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको छ’ उनले भने।

यहाँ उत्पादित माछा थोकमा प्रतिकिलो दुईसय ५० र फुटकरमा प्रतिकिलो तीनसय रुपैयाँमा बिक्री हुने गरेको उनकाे भनाइ छ। सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो दुईसय २० रुपैयाँ र फुटकरमा प्रतिकिलो दुईसय ८० रुपैयाँमा बिक्री हुन्छ।

‘हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ। सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको हो’ उनले भने।

माछापालनका लागि तीन वटा पोखरी निर्माण गरेको बताउँदै चौधरीले कमन कार्प, ग्रास, रहु र पंगासेस जातका माछापालन गर्दै आएको जानकारी दिए। माछा बिक्रीका लागि समस्या नभए पनि अवैध रूपमा भित्रिने माछाका कारण बिक्री दरमा वृद्धि हुन नसकेको धनगढी उपमहानगरपालिका-२ का माछापालक नरेश शाहले गुनासो गर्छन्।

‘लामो समयदेखि हामीले व्यवसाय गर्दै आएका छौँ, तर लगानी र मिहेनतअनुसारको उचित मूल्य नपाउँदा कृषक समस्यामा परेका छौँ’ उनले भने। सिमानाकाबाट अवैध रूपमा भित्रिने माछा रोक्नका लागि नाका क्षेत्रमा कडाइ गरिनुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : आइतबार, साउन २५ २०८२१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend