आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सञ्चिति बढेसँगै विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न राष्ट्र बैंकले दियो अनुमति

आइतबार, साउन २५ २०८२
सञ्चिति बढेसँगै विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न राष्ट्र बैंकले दियो अनुमति

यसले बैंकहरूको विदेशी मुद्रा व्यवस्थापन सहज हुने र सटही कारोबारमार्फत ग्राहकलाई सेवा दिन पनि सहयोग पुग्ने दाबी गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र पूर्वाधार विकास बैंकहरूलाई विदेशी  मुद्रामा अन्तरबैंक कारोबार गर्न अनुमति दिएको छ। यसअघि बैंकहरूले नेपाली रुपैयाँमा मात्र अन्तरबैंक कारोबार गर्न अनुमति पाउने गरेका थिए।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै विदेशी मुद्रामा अन्तरबैंक कारोबार वा सापटीको अधिकतम अवधि ७ दिनसम्म तोकेको छ। विदेशी मुद्राको सञ्चिति र कारोबार बढ्दै गएपछि यो निर्णय गरिएको हो।

अहिले बैंकहरूमा विदेशी मुद्रा सञ्चिति र कारोबार दुवै बढेको छ। त्यसैले बैंकहरूले अन्तरबैंक कारोबार गर्न पाउने व्यवस्था गरिएको हो। यसले बैंकहरूको विदेशी मुद्रा व्यवस्थापन सहज हुने र सटही कारोबारमार्फत ग्राहकलाई सेवा दिन पनि सहयोग पुग्ने दाबी गरिएको छ।

राष्ट्र बैंकका तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१ असारमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो भने २०८२ जेठसम्म २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको विदेशी मुद्रा सञ्चिति पनि २०८१ असारमा १ खर्ब ९२ अर्बदेखि २०८२ जेठसम्म २ खर्ब ९४ अर्ब रुपैयाँ पुगेर ५३ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी, जेठ महिनाको विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव हुँदा छोटो अवधिका लागि अन्तरबैंक सापटी चलाइन्छ। राष्ट्र बैंकले तोकेको अनिवार्य नगद मौज्दात अनुपात र वैधानिक तरलता अनुपात व्यवस्थापनका लागि बैंकहरूले यस्तो कारोबार गर्दै आएका छन्।

आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा वाणिज्य बैंकहरूबीच १५ खर्ब ३१ अर्ब र अन्य वित्तीय संस्थाबीच १ खर्ब ५० अर्बको अन्तरबैंक कारोबार भएको छ। जबकि आर्थिक वर्ष २०८०/८१ मा यो कारोबार क्रमशः ३७ खर्ब र ३ खर्ब रुपैयाँको थियो।

राष्ट्र बैंकका अनुसार बैंकहरूको निक्षेप वृद्धिको अनुपातमा कर्जा प्रवाह कम हुँदा अधिक तरलता कायम भई अन्तरबैंक कारोबारमा पनि कमी आएको छ।


प्रकाशित : आइतबार, साउन २५ २०८२१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend