काठमाडौं- गत असार २३ गते रसुवा जिल्लामा आएको अविरल वर्षा र बाढी–पहिरोका कारण भएको क्षतिबाट प्रारम्भिक बीमा दाबीको रकम ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म दाबीका कुल ७८ वटा दर्ता भएका छन्।
दाबीमध्ये सम्पत्ति बीमा सबैभन्दा बढी छ भने सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ५, निजी मोटर बीमा १६ र सार्वजनिक मोटर बीमा ४२ वटा छन्।
बीमा कम्पनी अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ५५ करोड रुपैयाँ, शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीमा ८ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी परेको छ।
त्यसैगरी, नेको इन्स्योरेन्समा ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
लेहेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरिएका सवारीसाधन र रसुवागढी जलविद्युतलगायतका संरचनामा ठूलो क्षति पुर्याृएको थियो। रासस