आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : ऊर्जामन्त्री खडका

शुक्रबार, साउन २३ २०८२
बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : ऊर्जामन्त्री खडका

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने मन्त्री दीपक खड्काले विश्वास व्यक्त गरे।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताएका छन्।

बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर अरुण रजौरियाको शपथ समारोहमा मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउन लाग्नुपर्ने बताएका हुन्।

मन्त्री खड्काले बूढीगण्डकी जस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकाले यसलाई स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिनेगरी अघि बढाउन निर्देशन दिए।

आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उनले बताए। नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने मन्त्री खड्काले विश्वास व्यक्त गरे। आयोजनालाई सार्वजनिक-निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।

'एक हजार २०० मेगावाट क्षमताको यो बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ, यो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य तथा उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्छ,' मन्त्री खड्काले भने। 

प्रमुख कार्यकारी अधिकृत रजौरियालाई कम्पनीका अध्यक्ष एवं ऊर्जा सचिव सुरेश आचार्यले शपथग्रहण गराए। शपथग्रहण समारोहमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागीता थियो। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend