आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

घारमा सुलसुलेको संक्रमणले मर्न थाले मौरी

शुक्रबार, साउन २३ २०८२
घारमा सुलसुलेको संक्रमणले मर्न थाले मौरी

हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५ सयभन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन्।

चितवन- पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले) को संक्रमण देखिएपछि मौरी मर्न थालेका छन्। रत्ननगर नगरपालिका-५ का किसान दीपक रिमालले पालेको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको संक्रमण देखिएको हो।

रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो। उनले भने, 'मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन्।' अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उनले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताए।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईँका अनुसार रिमालको फार्ममा रहेका चारवटा घारमा सुलसुलेको संक्रमण देखिएको हो। उनले ती घारमा देखिएको सुलसुले एकराइन प्रजातिको भएको बताउँदै उनले, 'एकराइनको संक्रमणले मौरीको श्वासनलीमा असर गर्दछ।' 

यसको संक्रमणबाट मौरी उड्न नसक्ने, कमजोर भएर पखेटालाई ‘के’ आकारको फिजाएर बस्ने गर्दछ। यो सुलसुलेले मौरीको भित्री भागको रस चुसेर कमजोर बनाउने उनले जानकारी दिए। उनले, 'यो सुलसुलेले पक्षघातको लक्षण उस्तै देखिने भएकाले छुट्याउन कठिन हुनेछ।' 

जिल्लामा यो समस्या हरेक वर्ष देखिने गरेको जनाउँदै मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख अमगाईँले मौरीमा सुलसुलेको संक्रमण र लक्षण देखिनेबित्तिकै औषधिको प्रयोग गर्नुपर्ने बताए। यो संक्रमण नांगो आँखाले देख्न नसकिने भएकाले अरु मौरीमा सर्न नदिनका लागि संक्रमित मौरीलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उनले उल्लेख गरे।

हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५ सयभन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन्।

यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने प्रमुख अमगाईँले बताए। उनका अनुसार जिल्लामा वार्षिकरूपमा ५७० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ। यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको उनले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend