आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बैतडीका धेरै भूभागमा पहिरोको जोखिम, आवतजावतमा विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

बिहीबार , साउन २२ २०८२
बैतडीका धेरै भूभागमा पहिरोको जोखिम, आवतजावतमा विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

सम्भावित विपद्का घटनाबारे तत्काल नजिकैको सुरक्षाकर्मी वा वडा कार्यालयमा जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ।

बैतडी- लगातार वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो।

बैतडीका धेरै भूभाग पहिरोको उच्च जोखिममा छन्। सानो असावधानीले क्षति निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। प्रशासनले स्थानीय तहहरूसँग समन्वय गर्दै विपद् व्यवस्थापन समिति सक्रिय बनाएको जनाएको छ।

साथै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा राखिएको बताइएको छ। आम नागरिकलाई अनावश्यक यात्रा नगर्न, घर छाड्दा परिवारलाई जानकारी गराउन, मोबाइल तथा सञ्चारका साधन चार्ज गरेर राख्न, आवश्यक कागजात सुरक्षित राख्न तथा आकस्मिक उद्धारका लागि तयार रहनसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

यस्तै, सम्भावित विपद्का घटनाबारे तत्काल नजिकैको सुरक्षाकर्मी वा वडा कार्यालयमा जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ। विगत वर्षमा जस्तै यस वर्ष पनि मनसुन अवधिभर प्रशासनले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘डिजास्टर अलर्ट’ प्रणाली, सूचना प्रवाह तथा उद्धार संयन्त्रलाई प्राथमिकतामा राखेको जनाएको छ।

मनसुनको समयलाई संवेदनशील जनाउँदै प्रशासनले नागरिक, सञ्चारकर्मी, संघसंस्था स्थानीय स्वयंसेवकलाई एकीकृतरूपमा विपद् व्यवस्थापनमा सहकार्य गर्नसमेत प्रशासनले आग्रह गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन २२ २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend