शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

जुम्लाका किसान स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १० २०७८
जुम्लाका किसान स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्दै

खलङ्गा- जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ। चन्दननाथ नगरपालिका-८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताएका छन्।

'स्याउका बिरुवा ट्रकमा नेपालगञ्ज पठाइसकेँ। नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ' उनले भने। हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा पठाइएको किसान रोकायाले जानकारी दिए। 

उनले बाजुराको बूढीनन्दा गाउँपालिकामा १३ हजार ५०० बिरुवा पठाए। अहिलेसम्म रोकायको नर्सरीमा रहेको ५० हजार बिरुवामा झन्डै २५ हजार बिरुवा निर्यात भइसकेको छ। स्याउको नर्सरी बनाएर बिरुवा हुर्काउन सके पनि पैसाको अभाव हुँदैन। स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम बन्दै आएको छ। सरकारी दरअनुसार स्याउ नर्सरी धनीले एक बिरुवाको ७७ रूपैयाँमा बेच्नुपर्छ तर नर्सरी धनीले ग्राहकअनुसार केही कम मूल्यमा पनि बिरुवा बेचेको पाइएको छ। गुणस्तरीय स्याउका बिरुवाको माग जिल्लाबाहिर अत्यधिक छ।

जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका बिरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ। त्यो बिरुवा पनि हामीहरुबाटै जाने गरेको स्याउ किसान रोकायाले बताए। वर्षमा झन्डै तीन लाख रूपैयाँको बिरुवा बिक्री हुने गरेको छ। निरोगी बिरुवा हुर्काउन सकियो भने खासमा यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुनेछैन।

गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्छ। यसका लागि पटक–पटक कृषि प्राविधिकको परामर्श लिनु आवश्यक पर्छ। स्याउका बिरुवा पर्याप्त लगाउने हो भने पैसा कमाउन विदेश जानु पर्दैन। सामाजिक सङ्घसंस्था र स्थानीय तहले विदेशी जातको स्याउ ल्याउन थालेकाले स्थानीय जातको स्याउ लोप हुने हो कि भन्ने चिन्ता यहाँका स्याउ किसानले बताए। रोकायाले आधिकारिकरुपमा सिर्जनशील स्याउ नर्सरी फार्म खोली व्यावसायिक रुपमा स्याउका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएका हुन्।

पछिल्लो समयमा अन्य स्थानीयवासीले पनि नर्सरी दर्ता गरी सञ्चालनमा ल्याएका छन्। उक्त कार्यालयका अनुसार स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न स्याउ किसान यो याममा लागिपरेका छन्। जुम्ली स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम, अर्घाखाँची, हुम्ला, कालीकोट, मुगु र जाजरकोटसम्म  निर्यात हुने गरेको कार्यालयका बागवानी शाखा प्रमुख सुष्मा बुढाले बताए।

यहाँ उत्पादित स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारिस दिने गरिएको उनको भनाइ थियो। जिल्लाबाट हालसम्म ४९ हजार स्याउ र ओखरका बिरुवा बाहिरी जिल्लामा निर्यात भएको छ। अहिले नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन्।

जुम्लामा १५५ स्याउ नर्सरी दर्ता भएका उक्त कार्यालयले जनाएको छ। स्याउ सुपरजोन परियोजना जिल्लामा लागू भएपछि आफूहरुलाई प्राविधिक ज्ञानदेखि स्याउका बिरुवा काटछाँटमा निकै राहत पुगेको यहाँका स्याउ किसानले बताए। रासस


प्रकाशित : मंगलबार, फागुन १० २०७८१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend