शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महोत्तरीमा पुगेन बीउ, ४९ प्रतिशतमात्र धान रोपाइँ

बुधबार, साउन २१ २०८२
महोत्तरीमा पुगेन बीउ, ४९ प्रतिशतमात्र धान रोपाइँ

सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन्।

महोत्तरी- लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ। सिंगो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो।

स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि मनसुनी वर्षा अनुकूल हुँदै गइरहेको अवस्थामा धमाधम रोपाइँ भइरहेकामा पछिल्लो समय बीउको अभाव देखिएको छ।

साउन तेस्रो साताको अन्त्यमा महोत्तरीको रोपाइँ करिब ४९ प्रतिशतमात्र पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन्।

'सबै खेतमा हिल्याउनेगरी पानी अझै पुगेको छैन, हामी कतिपय ठाउँमा सडक, कुलो सोहोरेर खेत हिल्याउँदै छौँ', भङ्गाहा-४ रामनगरका किसान काशी विन मुखिया भन्छन्, 'अहिलेलाई दुःखसुख पानी जम्मा गरे पनि बीउले धोका दिएको छ।' 

यसपालि खडेरीले ब्याडमै बीउ सुकाएर हुर्कन नसक्दा अहिले बीउको अभाव भएको मुखियाको भनाइ छ। आफूले हिल्याइसकेको खेतमा बीउ नपुगेर रोपाइँ थाँती रहेको मुखियाले बताए। मुखिया अहिले बस्तीबस्ती चाहार्दै बीउ खोज्दैछन्।

मुखियाजस्तै सोही बस्तीका अर्का किसान इद्रिस कवारी पनि अब बीउको अभावले रोपाइँ नबढ्ने छाँट देखिएको बताउँछन्। 'खडेरीले पहिले दुखजिलो रोपिएको धान पनि राम्ररी गाँजिन सकेन, त्यसैले खरुअन (पहिलो बीउ रोपो गााजिएपछि त्यो उखलेर रोपिने कार्य) पनि हुर्केन', कवारी भन्छन्, 'अब पानी त जेनतेन भयो, बीउले सकस पार्दैछ।'

महोत्तरीको कुल ७१ हजार हेक्टर जग्गामध्ये करिब ४५ हजार हेक्टरमा धानखेती हुँदै आएको छ। 'पुरानो अभिलेख हेर्दा अनुकूल वर्षा भएको समयमा ४५ हजार हेक्टरभन्दा बढीमा धानखेती भएको देखिन्छ', वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव भन्छन्, 'हामीले यसलाई ४५ हजार हेक्टर मान्ने गरेका छौँ।' 

यस वर्ष अहिलेसम्म ४९ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ। यो २२ हजार हेक्टरभन्दा माथिको क्षेत्रफल हो। साउन तेस्रो साता सुरु हुनअघि जिल्लामा ३० प्रतिशतमात्र रोपाइँ भएको थियो। यसैबीच वर्षा भएसँगै रोपाइँले गति लिइ अहिले ४९ प्रतिशत पुगेको हो।

'सबै ठाउँमा पानी अझै पुगेको छैन, किसान सडक, कुलो सोहोरेर, स्यालोट्युवबेल र इनार पम्पसेटबाट पानी जोहो गरेर रोपाइँ गर्दैछन्', यादव भन्छन्, 'अब मुख्य समस्या बीउको छ, ब्याडमै सुकेको बीउ पछिल्लो वर्षाले बिउँतिने क्रम त छ, तर समय लाग्छ।' 

पानी परीरहेको हुँदा अन्य बालीभन्दा धान नै लगाउन ठिक हुने विज्ञ बताउँछन्। यस वर्ष जिल्लाको सुदूरदक्षिणी र मध्यभेगभन्दा उत्तरी क्षेत्रमा वर्षा बढी भएकाले धान रोपाइँ गति उत्तरीक्षेत्रमा बढी भएको देखिन्छ। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend