आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बुटवल धागो कारखाना व्यवस्थापनका लागि सम्पत्ति मूल्यां‌कन गर्न १२ कम्पनीको आवेदन

बुधबार, साउन २१ २०८२
बुटवल धागो कारखाना व्यवस्थापनका लागि सम्पत्ति मूल्यां‌कन गर्न १२ कम्पनीको आवेदन

तत्कालीन राजा वीरेन्द्रले मुलुकलाई कपडामा आत्मनिर्भर बनाउने भन्दै २०३९ सालमा बुटवल धागो कारखाना स्थापना गरेका थिए। कारखाना १ सय ४३ रोपनी जग्गामा फैलिएको छ। जसमा ६ वटा ठूला भवन छन्।

काठमाडौं- १८ वर्षदेखि बन्द रहेको बुटवल धागो कारखाना व्यवस्थापनका लागि सम्पत्ति मूल्यांकन गर्न अर्थ मन्त्रालयले परामर्शदाता खोज्ने प्रक्रिया तीव्रताका साथ अगाडि बढाएको छ।

मन्त्रालयले असार १२ गते कारखाना व्यवस्थापनका लागि सम्पत्ति मूल्यांकन परामर्शदाता खोजीका लागि सूचना जारी गरेको थियो। मन्त्रालयले जारी गरेको सूचनामा १२ वटा कम्पनीले आवेदन दिएका छन्।

आवेदन दिनेहरुमा एस सुवेदी एसोसिएट्स, देव एसोसिएट्स चार्टर्ड एकाउन्टेन, एस एण्ड एस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स एस एण्ड एस-पीजेपीएन जेभी, एसएमसीए एसोसिएट्स, जीन एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन जीन एण्ड जीआरबी जेभी र पीवाईसी एण्ड एसोसिएट्स रहेका छन्।

यसैगरी, केजे एण्ड एसोसिएट्स, सुजन एण्ड काफ्ले एसोसिएट्स र टीपी अधिकारी एण्ड एसोसिएट्स टीपीए-एफबीसी जेभीले पनि चासो देखाउँदै आवेदन दिएका छन्। साथै, बीआरएस न्यौपाने एण्ड को, एसडी एण्ड एसोसिएट्स र एबीएस एण्ड एसोसिएट्सले आवेदन दिएका छन्।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा सरकारले २०६४ साददेखि बन्द रहेको बुटवल धागो कारखाना व्यवस्थापन गर्ने निर्णय गरेको थियो। कारखानामा रहेका कर्मचारीलाई २०६६ सालदेखि अवकाशमा पठाइसकिएको थियो। जहाँ अहिले तीनजना करारका कर्मचारीमात्र रहेका छन्। कारखाना सञ्चालन गर्ने विषय जनार्दन शर्मा अर्थमन्त्री भएका बेला बजेटमा समेत समावेश गरिएको थियो।

साथै केही समयअगाडि मात्रै बसेको मन्त्रिपरिषद्को बैठकले समेत कारखाना व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले कारखाना व्यवस्थापनको लागि सम्पत्ति मूल्यांकन गर्न परामर्शदाता छनोट प्रक्रिया सुरु गरेको थियो।

तत्कालीन राजा वीरेन्द्रले मुलुकलाई कपडामा आत्मनिर्भर बनाउने भन्दै २०३९ सालमा बुटवल धागो कारखाना स्थापना गरेका थिए। कारखाना १ सय ४३ रोपनी जग्गामा फैलिएको छ। जसमा ६ वटा ठूला भवन छन्।

उद्योगको दैनिक उत्पादन क्षमता १० टन रहेको थियो। बुटवल धागो कारखानामा नेपाल सरकारको ५९.७४ प्रतिशत र संस्थान/निजी क्षेत्रको ४०.२६ प्रतिशत सेयर स्वामित्व रहेको छ।

कारखानामा नेपाल सरकारको ऋण लगानी रकममा समेत विवाद देखिएको छ। संस्थानले १ अर्ब ५५ लाख ऋण रहेको बताएको छ। तर सरकारले भने १ अर्ब १२ करोड १ लाख रूपैयाँ ऋण लगानी रहेको दाबी गरिरहेको छ। विवादित रकम ११ करोड ४६ लाख रूपैयाँ रहेको छ।

२०८०/८१ सम्म आइपुग्दा कारखानाको सञ्चित नोक्सानी रकम २ अर्ब ३ करोड ७३ लाख रूपैयाँ पुगेको छ। यो रकम २०७९/०८० को तुलनामा १.८ प्रतिशतले बढेको हो। २०७९/०८० सम्म कारखानाको सञ्चित नोक्सानी २ अर्ब १३ लाख रूपैयाँ थियो। कारखानाको नेटवर्थ १ अर्ब ६६ करोड ४१ लाख रूपैयाँले ऋणात्मक छ।

कारखानाको अधिकृत पुँजी ६० करोड रूपैयाँ र जारी पुँजी ४५ करोड गरी कुल चुक्ता पुँजी ३७ करोड ३१ लाख रूपैयाँ रहेको छ। कारखानाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ३९ लाख रूपैयाँ नोक्सानी बेहोरेको थियो।

कारखानाले नेपाल सरकारलाई बुझाउनुपर्ने ऋणमात्रै १ अर्ब रूपैयाँभन्दा बढी छ। यसैगरी बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने ऋण ९८ करोड ७३ लाख रूपैयाँ रहेको छ। जसमा ब्याज रकममात्रै ५३ करोड ३७ लाख रूपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend