आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

‘कुलिङ पिरियड’ सम्बन्धी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

मंगलबार, साउन २० २०८२
‘कुलिङ पिरियड’ सम्बन्धी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

समिति सभापति जीवन परियारले परिमार्जन गरिएको प्रतिवेदन समितिका सदस्यले अन्तिममा नहेरेको र छलफल नगरिएको छानबिनका क्रममा पाइएको स्पष्ट पारे।

काठमाडौं- ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ। सभाको आजको बैठकमा समिति सभापति जीवन परियारले सो प्रतिवेदन सभासमक्ष पेस गरे।

सभापति परियारले सो विधेयकका सम्बन्धमा मिहीनरुपमा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन समितिका सदस्यले अन्तिममा नहेरेको र छलफल नगरिएको छानबिनका क्रममा पाइएको स्पष्ट पारे। उनले मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको र विधेयक मस्यौदामा मिलाउने जिम्मेवारीमा संलग्न पक्षले आफ्नो दायित्व पूरा नगरेकाले कानूनी तादाम्यता नमिलेको सदनलाई जानकारी गराए।

प्रतिवेदनले सो त्रुटिका सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानूनी जिम्मेवारी हुने हुँदा सोही बमोजिमको व्यवस्था गर्न सुझाव दिएको छ। समितिले आगामी दिनमा यसखालका त्रुटि हुन नदिन मूल विधेयक र समितिको मूल प्रतिवेदन एकीकृतरुपमा हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ।

विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिने, विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई त्यससम्बन्धमा बढी जवाफदेही बनाउने, संवेदनशील छलफलमा गोपनीयता र पारदर्शितालाई सन्तुलनमा राख्न सोहीअनुरुप सरोकारवालाबाहेक र अन्यलाई विचार गरी प्रवेश दिन समितिले सुझाव दिएको छ।

'समितिका निर्णयलाई एक रुपता कायम गर्न र मानवीय त्रुटि कम गर्न मार्गदर्शन तयार गरी लागु गर्ने, सभापतिले निर्णय प्रक्रियामा सबै सदस्यलाई विधेयकमा के-के परिमार्जन गरियो भन्ने विषयलाई वाचन गरी निर्णयमा सदस्यको हस्ताक्षर गर्ने पद्धतिको विकास गर्ने तथा समितिको अन्तिम प्रतिवेदन सभामा पठाउनुपूर्व अनिवार्यरुपमा समितिको बैठक राखी छलफल गराउनुपर्ने', छानबिनको निष्कर्ष सुनाउँदै सभापति परियारले भने।

समितिले राज्य व्यवस्था समितिका सभापति, सचिव, सदस्य, विज्ञ, गृहमन्त्री, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विभिन्न राजनीतिक दलका मुख्य तथा प्रमुख सचेतक, संसद्‌मा रहेका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र सांसदसँग अन्तरक्रिया र छलफल गरेको उनले जानकारी दिए।

यसैगरी, समितिले मुख्यसचिव, उच्चपदस्थ कर्मचारी, संसद्का महासचिव, विभिन्न मन्त्रालयका सचिवसँग पनि प्रत्यक्ष साक्षात्कार गरेको थियो। समितिले २९ दिनसम्म विभिन्न ३७ पटक बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। समितिले आजै सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको थियो। सोमबार रातभर सिंहदरबारमा बैठक बसेर समितिले प्रतिवेदन तयार गरेको थियो। 

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend