आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पोखरा महानगरद्वारा 'नगर ऊर्जा योजना' सार्वजनिक, १ अर्ब ३३ करोड लागत अनुमान

मंगलबार, साउन २० २०८२
पोखरा महानगरद्वारा 'नगर ऊर्जा योजना' सार्वजनिक, १ अर्ब ३३ करोड लागत अनुमान

यस योजनाले 'समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा' को दीर्घकालीन परिकल्पना गरेको छ।

गण्डकी- दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयासअन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ। पाँच वर्षे समयावधिको उक्त योजनाको पोखरा महानगरप्रमुख धनराज आचार्यले सार्वजनिक गरे।

ऊर्जा विकास उपसमितिद्वारा तयार पारिएको उक्त योजना जीआईजेड नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार पारिएको हो। योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको र यस योजनालाई गत फागुनमा पोखरा महानगरले औपचारिकरूपमा अनुमोदन गरेको थियो।

कुल एक अर्ब ३३ करोड ३० लाख ८२ हजार रूपैयाँ अनुमानित लागत रहेको यस योजनाले 'समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा' को दीर्घकालीन परिकल्पना गरेको छ। योजनाले प्राथमिकताका रूपमा घरायसीस्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि, परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई राखेको छ।

त्यसैगरी, व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण, नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिलाई प्रथमिकतामा राखेको छ।

पाँच वर्षे यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

महानगर प्रमुख आचार्यले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिका प्रतिबद्ध रहेको बताए।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारीले यस योजनाको प्रभावकारी कार्यान्वयनबाट नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुग्ने बताए। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend