आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

मंगलबार, साउन २० २०८२
हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकारले नीतिगत सहजीकरण गरिरहेको उनले बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले देशको दुर्गम गाउँबस्तीमा अझै सरकार स्वयमले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्।

नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा मन्त्री खड्काले भने, 'सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिँचाइ गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत सिञ्चित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु।'

उनले थपे, 'विद्युतको आवश्यकता बढ्दो छ, आपूर्तिको माग पनि उच्च छ तर त्यसको सम्बोधन हुन नसकेको गुनासो छ। अब तीव्र गतिमा काम गर्ने बेला आएको छ। सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ।'

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकारले नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले बताए। स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, 'हामी जलविद्युतमा जति अगाडि बढ्दैछौँ, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो। जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ।'

कार्यक्रममा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए।

उनले स्पष्ट गरे, 'हामीले स्वच्छ ऊर्जा उत्पादन गरिरहेका छौँ, कार्बन उत्सर्जन गरिरहेका देशहरूसँग क्षतिपूर्तिका लागि कूटनीतिक तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यक पहल गर्न सरकार तयार छ।'

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पार्दै भने, 'संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ।'

कार्यक्रममा ऊर्जा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, संघका वरिष्ठ उपाध्यक्ष, सदस्यहरू, विभिन्न सौर्य कम्पनीका प्रतिनिधि, विद्युत प्राधिकरणका पदाधिकारी एवं विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, साउन २० २०८२१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend