आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दिनमा १० वटासम्म डोको बुन्छन्, मासिक ३५ हजारसम्म आम्दानी गर्छन् भोजपुरका चन्दबहादुर

मंगलबार, साउन २० २०८२
दिनमा १० वटासम्म डोको बुन्छन्, मासिक ३५ हजारसम्म आम्दानी गर्छन् भोजपुरका चन्दबहादुर

'यहीमात्र व्यवसाय गर्ने हो भने वार्षिक आठ लाख रूपैयाँसम्म आम्दानी गर्न कठिन छैन। अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाख रूपैयाँसम्म आम्दानी हुन्छ।'

भोजपुर- भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोको बिक्रीबाट मासिक ३५ हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोको बिक्रीबाट मासिक ३५ हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका हुन्।

स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोको भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए। डोको बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उनको भनाइ छ।

करिब ४१ वर्षअघिदेखि डोको बुनेर बिक्री गर्दै आएको बताउँदै उनले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिए। 'निकै लामो समयदेखि डोको बुन्ने काम गर्दै आएको छु', तामाङले भने, 'एक दिनमा आठदेखि १० वटासम्म डोको बुन्छु। डोको बिक्रीबाट मासिक ३५ हजार रूपैयाँसम्म आम्दानी हुन्छ।'

उनका अनुसार स्थानीय बजारमा प्रतिवटा ३५० देखि ४ सय रूपैयाँसम्ममा डोको बिक्री हुन्छ। घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक सातदेखि आठ लाख रूपैयाँसम्म आम्दानी लिन सकिने उनको भनाइ छ।

'डोको बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ', तामाङले भने, 'यहीमात्र व्यवसाय गर्ने हो भने वार्षिक आठ लाख रूपैयाँसम्म आम्दानी गर्न कठिन छैन। अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाख रूपैयाँसम्म आम्दानी हुन्छ।'

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको बनस्पति) का डोको जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ। मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोको तयार गर्न सकिने उनको भनाइ छ। डोकोका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए।

सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताए। मालिङ्गो काट्नका लागि वर्षमा एक पटकमात्र वन खुला हुने गरेको उनको भनाइ छ। आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायत कच्चा पदार्थबाट डोको बुन्दै आएको तामाङले जानकारी दिए।

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताए।

गाउँघरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उनले यस्ता परम्परागत कामलाई व्यावसायीकरण गर्नसके अझ सहज हुने उनले धारणा राखे। परम्परागत पेसालाई व्यवसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend