सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भटौली खोलामा बाढी : पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

आइतबार, साउन १८ २०८२
भटौली खोलामा बाढी : पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन्।

रामेछाप- सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ। कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन्।

शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ।

दुई पांग्रे सवारीसाधनबाहेक अन्य सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। उनले भने, 'बाटो खुलाउने प्रयास जारी छ।'   

पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो।

शुक्रबार रातिको वर्षाले बनाइएका संरचनासमेत बगाएको स्थानीय केदारप्रसाद ढुंगेलले बताए। खाँडादेवी गाउँपालिका-४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताए।

रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप-काठमाडौं वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ। गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुंगाका धेरै सवारीसाधन यही बाटो भएर राजधानी आवतजावत गरेका थिए।

हाल पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन बोकेका सवारीसाधन यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाडौं तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ। रासस


प्रकाशित : आइतबार, साउन १८ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend