सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

अर्थ मन्त्रालयले थाल्यो बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

आइतबार, साउन १८ २०८२
अर्थ मन्त्रालयले थाल्यो बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

त्यसैगरी, काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ।

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ। यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ। 

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने विषयमा चर्चा भएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ। 

भारत, चीनलगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनेगरी नेपालमा अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माणलगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उपस्थित थिए।

आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमश: छलफल गर्ने कार्यक्रम छ।


प्रकाशित : आइतबार, साउन १८ २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend