सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

२४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनामा १२९ मिमी वर्षा, तटीय बस्ती जोखिममा

आइतबार, साउन १८ २०८२
२४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनामा १२९ मिमी वर्षा, तटीय बस्ती जोखिममा

झापा जिल्लाका अनारमनी, चन्द्रगढी र केचनालगायत क्षेत्रमा पछिल्लो २४ घण्टामा १२९ मिलिमिटरसम्म वर्षा भएको छ। लगातारको वर्षासँगै जिल्लाका कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय बस्तीहरूमा बाढीको जोखिम बढेको छ।

झापा- झापा जिल्लाका अनारमनी, चन्द्रगढी र केचनालगायत क्षेत्रमा पछिल्लो २४ घण्टामा १२९ मिलिमिटरसम्म वर्षा भएको छ। लगातारको वर्षासँगै जिल्लाका कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय बस्तीहरूमा बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा जडान गरिएको साइरन सक्रिय भएको छ। साइरनले समयमै जानकारी दिएर बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ। त्यस्तै प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा पनि सञ्चालनमा छन्।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले साइरनले टाढैबाट बाढीको खतरा जानकारी गराउने बताइन्। उनी अनुसार स्थानीय सरकार सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा केन्द्रित छ। बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि अघि बढाइएको छ।

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नदीको बहाव उच्च भएकाले नगर क्षेत्र सतर्क अवस्थामा रहेको बताए। नदीको बहाव लगातार बढिरहेको भन्दै उनले विपद् व्यवस्थापन समिति सक्रिय रहेको र आवश्यकता अनुसार उद्धार, राहत तथा स्थानान्तरणका लागि तयारी अवस्थामा राखिएको उल्लेख गरे।

जिल्ला प्रशासन कार्यालय झापा, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा उच्च जोखिममा रहेका स्थानमा अनुगमन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले तत्काल उद्धार तथा राहतका लागि तयारी गरिएको जानकारी दिए।

स्थानीयवासी हरि राजवंशीका अनुसार बाढीको जोखिममा परेका क्षेत्रमा स्वयंसेवक परिचालन गरी नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

अविरल वर्षाले एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रका कालीखोला, इलिफेन्ट क्रसिङ र भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने सम्भावना बढेको छ। आयोजनाले कर्मचारीसहित  जेसीबी र स्काइभेटर तयारी अवस्थामा राखेको जनाएको छ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कालीखोलाको डाइभर्सनमा जोखिम देखिएकाले आयोजनासँग आवश्यक परामर्श गरिएको बताए। सडक डाइभर्सन क्षेत्रमा बाढी आएमा उद्धार टोली सक्रिय बनाइएको र वैकल्पिक आवागमन सुनिश्चित गर्न इञ्जिनियरिङ टोली परिचालन गरिएको जानकारी दिए।

बाढीको सम्भावित जोखिम रहेका कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कन्काईलगायत नदी किनारका बस्तीहरूमा बसोबास गरिरहेका नागरिकलाई विशेषज्ञहरूले तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन्। रासस


प्रकाशित : आइतबार, साउन १८ २०८२०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend