सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

६८ देश र युरोपेली युनियनमाथि ट्रम्पले तोके नयाँ भन्सार दर, विश्व बजारमा थप अनिश्चितता

आइतबार, साउन १८ २०८२
६८ देश र युरोपेली युनियनमाथि ट्रम्पले तोके नयाँ भन्सार दर, विश्व बजारमा थप अनिश्चितता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार प्रणालीलाई पुनर्संरचना गर्ने अभियानअन्तर्गत ६८ देश तथा युरोपेली युनियनमाथि १० देखि ४१ प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार प्रणालीलाई पुनर्संरचना गर्ने अभियानअन्तर्गत ६८ देश तथा युरोपेली युनियनमाथि १० देखि ४१ प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पको निर्णयले विश्व बजारमा पुनः अनिश्चितता सिर्जना गरेको छ। ह्वाइट हाउसले नयाँ भन्सार दरहरू सात दिनपछि मात्र लागु हुने जानकारी दिएको छ। प्रारम्भिक म्यादअनुसार शुक्रबारदेखि लागु गर्ने भनिए पनि अहिले सात दिन ढिलाइ गरिएको छ। अधिकारीहरूका अनुसार भन्सार दर सन्तुलनमा ल्याउन र सम्भावित वार्ताका लागि समय थपिएको हो।

ट्रम्पले भारतबाट हुने अमेरिकी आयातमा २५ प्रतिशत भन्सार तोकेका छन्। ताइवानमा २० प्रतिशत, दक्षिण अफ्रिकामा ३० प्रतिशत र स्वीट्जरल्यान्डमा ३९ प्रतिशत दर तोकिएको छ। ब्राजिलका केही वस्तुमा पहिलेदेखि नै ४० प्रतिशत दर लागिरहेको छ भने अन्यमा १० प्रतिशत कायम गरिएको छ।

क्यानडालाई फेन्टानिल नियन्त्रणमा सहयोग नगरेको आरोप लगाउँदै भन्सार दर २५ बाट ३५ प्रतिशत पुर्‍याइएको छ। विश्वका केही द्वन्द्वग्रस्त र गरीब देशहरू पनि नयाँ दरको चपेटामा परेका छन्। सिरियामा ४१ प्रतिशत, लाओस र म्यानमारमा ४० प्रतिशत, लिबिया ३० प्रतिशत, इराक ३५ प्रतिशत र श्रीलंकामा २० प्रतिशत दर तोकिएको छ। लेसोटोको दर भने घटाएर १५ प्रतिशतमा सीमित गरिएको छ।

मेक्सिकोका लागि ३० प्रतिशत भन्सार दर लागे पनि थप ९० दिनको छुट दिइएको छ। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामी मेक्सिकोसँग आगामी ९० दिनभित्र व्यापार सम्झौता गर्न वार्ता गर्दैछौँ।' चीनमा भने उच्च भन्सार दर १२ अगस्टदेखि लागु हुने भनिएको छ, यद्यपि उक्त निर्णय अझै अनुमोदनको प्रक्रियामा रहेको ह्वाइट हाउसले जनाएको छ।

ताइवानका राष्ट्रपति लाई छिङले नयाँ दरलाई 'अस्थायी' भनेका छन् भने थाइल्याण्डले १९ प्रतिशतको दरलाई 'सफलता'को रूपमा व्याख्या गरेको छ। क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटले पनि सो दरलाई 'राम्रो खबर' भनेका छन्।

अस्ट्रेलियाले पछिल्लो साता अमेरिकी गाईको मासुमाथिको प्रतिबन्ध हटाएको सन्दर्भमा व्यापार मन्त्री डन फेरेलले आफ्नो देशका सामानहरूमा १० प्रतिशत दर यथावत् राखिएको पुष्टि गरेका छन्।

गत घोषणाहरूको तुलनामा यसपटकको घोषणा पछि बजारमा प्रतिक्रिया सौम्य देखिएको छ। एसियाली सेयर बजार र फ्युचर्समा शुक्रबसर बिहान केही मात्रामा मात्र गिरावट आएको हो।

गार्जियनका अनुसार हालसम्म अमेरिका, बेलायत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण कोरिया, जापान, पाकिस्तान र युरोपेली युनियनसँग मात्र औपचारिक सम्झौतामा पुगेको छ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, 'नयाँ भन्सारहरू धेरै राम्रोसँग अघि बढिरहेका छन् यदि केही देशहरूले चार हप्ताभित्र कुनै सम्झौता ल्याए भने हामी छलफल गर्न सक्छौँ।' ह्वाइट हाउसका अनुसार थप व्यापार सम्झौताहरू चाँडै सार्वजनिक गरिनेछन्।


प्रकाशित : आइतबार, साउन १८ २०८२०६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend