सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने

बिहीबार , साउन १५ २०८२
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने

'निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यस पटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुंग्याउने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ', उनले भने।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने बताएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

'निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यस पटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुंग्याउने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ', उनले भने।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले ती विमानस्थलमा यात्रु संख्या वृद्धिका लागि विभिन्न योजना अघि बढाइएको स्पष्ट पारे।

'कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रुको संख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्', उनले भने, 'यात्रु संख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षणलगायत सुविधा सो क्षेत्रमा पुर्‍याउनुपर्छ।'

नेपाल एयरलाइन्सको ६ वटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी काम गर्न निर्देशन दिइएको बताए। प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना जहाज चलाउने तयारी भइरहेको उनको भनाइ छ।

आगामी दशकलाई पर्यटन प्राथमिकता दशक घोषणा गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री पाण्डेले संघीय मन्त्रालय र निकाय, तीनै तहका सरकार निजी क्षेत्रलाई सँगै राखेर पर्यटन संवाद कार्यक्रम गरिएको बताए।

नीतिगत  तथा कानूनी सुधारलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न विभिन्न योजना अघि सारिएको बताए। पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयास भइरहेको जानकारी दिए।

छलफलमा सांसदहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी टुंगो लगाउन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको योजना बनाउन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाउनुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड बनाउन सुझाव दिए। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend