काठमाडौं- मधेश प्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिँचाइ र खानेपानीको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधबार बुझाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिँचाइका कामहरु सुरु गर्न निर्देशन दिए।
तराई मधेश देशको अन्नको भण्डार रहेको भएपनि समयमै पानी नपर्दा सिँचाइ देखि खानेपानीको अभाव हुनु गम्भीर चिन्ताको विषय रहेको भन्दै ऊर्जामन्त्री खड्काले विपद्लाई योजनामा होइन, किसानको खेतमा सिँचाइ सुविधा पुग्नेगरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह सचिव सुशील चन्द्र आचार्यको नेतृत्वमा कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव, कृषि विभागका महानिर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकसहितको ६ सदस्यीय कार्यदल गठन गरेको थियो।
सो कार्यदलले तयार गरेको प्रतिवेदनले मधेश प्रदेशमा भूजलको गिरावट, साना तथा मझौला सिँचाइ संरचनाको जिर्ण अवस्था, प्राविधिक जनशक्तिको अभाव, र सिँचाइको असमान पहुँच लगायतका विषयहरूलाई गम्भीर संकटका रूपमा उजागर गरेको छ।
यससँगै स्थानीय तहसँगको समन्वय, कृषि मन्त्रालयसँगको सहकार्य र नीति कार्यान्वयनमा लचकता आवश्यक रहेको उल्लेख गरिएको छ।
मन्त्रालयले तत्काल लागु गरिने केही प्राथमिक कार्यक्रमहरूको खाका पनि सार्वजनिक गरेको छ। जसमा खानेपानी आपूर्तिका लागि पानी ट्याङ्कर परिचालन, साना तथा मझौला ट्युववेलहरूको मर्मत र पुनःसञ्चालन, सिंचाइ सामग्रीको सरल आपूर्ति प्रक्रिया निर्माण, भूजल रिचार्ज प्रविधिमा जोड र आधुनिक सिंचाइ विधिहरू जस्तै ड्रिप तथा माइक्रो इरिगेसन प्रणालीको विस्तार जस्ता विषय समावेश छन्।
ऊर्जामन्त्री खड्काले यस कार्ययोजनालाई विपद् व्यवस्थापनका साथ विकासको अवसरमा रूपान्तरण गर्ने एउटा मोडेलको रूपमा व्याख्या गरे।
प्रतिवेदन तयार पार्ने कार्यदलले प्रदेशका प्रभावित जिल्लाहरूमा स्थलगत अध्ययन गर्दै स्थानीय प्रतिनिधि, किसान, उपभोक्ता समिति तथा सरोकारवाला निकायसँगको छलफलबाट तथ्य संकलन गरेको जनाएको छ।
प्रतिवेदनअनुसार मधेशको सुक्खा समस्यालाई ‘नीति निर्माणदेखि कार्यान्वयनसम्म पुनरावलोकन गर्नुपर्ने’ आवश्यकतासमेत औँल्याइएको छ। रासस