सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व संकलन

बुधबार, साउन १४ २०८२
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कुल ७८ प्रतिशत राजस्व संकलन गरेको छ।

जुम्ला- आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम ४९ करोड ४६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रूपैयाँ रहेको थियो।

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले लक्ष्यको कुल ७८ प्रतिशत राजस्व संकलन गरेको छ।

यस्तै, ३४ करोड ९५ लाख रूपैयाँ आयकरतर्फ राजस्व संकलन भएको छ। ‘भ्याट’तर्फ १३ करोड ५२ लाख रूपैयाँ र अन्तःशुल्कतर्फ ५९ लाख ६१ हजार रूपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ।

जिल्लामा हालसम्म ३९ हजार ५७३ जना करदाता दर्ता प्रक्रियामा छन्। जसमा ‘भ्याट’तर्फ दुई हजार छ, आयकरतर्फ १७ हजार ४७०, अन्तशुल्कमा ७२९ र ‘प्यान’तर्फ १९ हजार ३६८ रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए।

करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई सोहीअनुसार काम भइरहेको सो कार्यालयले जनाएको छ। बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको सूचना अधिकारी पौडेलको भनाइ छ।

बक्यौता भएको राजस्व तिर्ने दायित्व व्यवसायीकै भएकाले कार्यालयले पटकपटक परिपत्र गर्दा पनि यहाँका ठूला तथा साना गरी करिब ८ सयभन्दा बढी ‘फर्म’ तथा व्यवसायीले बक्यौता तिर्न नसकेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ। उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोटमा पनि कार्यक्षेत्र रहेको छ। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend