शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धानलाई आकासे पानीको भर, पर्याप्त वर्षा नहुँदा महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

बुधबार, साउन १४ २०८२
धानलाई आकासे पानीको भर, पर्याप्त वर्षा नहुँदा महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ
फाइल तस्बिर

पानी पर्ला र धान रोपौँला भन्ने आशैआशमा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन्।

महोत्तरी- आज साउन दोस्रो साता लागिसकेको छ। लामो खडेरीले आत्तिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन्।

आकासे पानीको भरमा रहेका किसान साउन दोस्रो सातासम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन्। रोपाइँको समय घर्कँदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन्।

'मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ', भंगाहा-१ का किसान रामकिसन मण्डलले भने। यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन (कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ। 

मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपिसक्ने तालिका मानिन्छ। खरुअन बीउ अपुग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ। यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताए।

पानी पर्ला र धान रोपौँला भन्ने आशैआशमा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन्। गत सोमबार एकछिन परेको पानीले ब्याडमा पहेँलिँदै गरेको बीउ र अघिको रोपो जगाए पनि रोपाइँका लागि नभएको किसान बताउँछन्। 

जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ। रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ।

'आफ्नो खेतमा इनार/बोरिङ केही छैन। सबै भाडामा चलाउन पर्दा घरमा भएको अन्नपात सबै सकियो', बर्दिबास-७ का किसान रितबहादुर खत्रीले भने, 'यस वर्ष खाद्य संकट हुने जोखिम छ, के खाएर जीविकोपार्जन गर्ने हो चिन्ता लाग्छ।'

पानी पर्लाकी भन्ने आशले आकाश ताक्दाताक्दै आँखा टट्टाएका उनको भनाइ छ। 'अब पानी पर्ला भनेर आकाश ताक्छौँ, पानी पर्दैन। चैत बैशाखको हुरहुरे बतास पो चल्दैछ', खत्रीले भने, 'पूर्वीया यो रुखो बतासले खेतबारीमा भाएको चिस्यान पनि रुख्याउँदैछ।'

विरक्तलाग्दो मौसमले कामको जाँगर सबै हराएको किसान बताउँछन्। असार २२ ताका सक्नुपर्ने बीउ रोप साउन दोस्रो सातासम्म नभएको किसानको दुखेसो छ। अब पानी परी हाले पनि बीउ अपुग भएर रोपाइँ बढ्ने स्थिति नरहेको किसानको निष्कर्ष छ। यसअघि रोपिएका धान पनि राम्ररी नगाजिँदा खरुअन हुने सम्भावना नदेखिएको किसान खत्रीले बताए।

यसपालि मधेस खडेरीको संकटमा छ। सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। मधेसमा हालसम्म करिब ५० प्रतिशत पनि रोपाइँ भएको छैन भने महोत्तरीको करिब ३५ प्रतिशत छ।

महोत्तरीमा कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा भएमध्ये ४२ हजार ५०० हेक्टरमा धानखेती गर्न मिल्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले जानकारी दिए। उनका अनुसार यहाँ १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ (कुलो, नहर) को व्यवस्था हुँदा अधिकांश खेती आकासे पानीमा निर्भर छ। 

पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइका प्रबन्धका लागि इनार, डिपबोरिङ र स्यालोट्युबबेल जडान गरिएकाले थप १० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताए। यसपालि लामो समयसम्म परेको खडेरीले कुलो, नहरका पानीका मूहान तथा इनार, बोरिङ पनि धमाधम सुक्दै जाँदा संकट चुलिँदै गएको उनको भनाइ छ। पानीको हाहाकारका बीच किसानले भूमिगत सिँचाइका स्रोतबाट ३५ प्रतिशत रोपाइँ सकेका उनले जानकारी दिए।

न्यूनतम स्रोतसाधन र सुविधा नहुँदा कहिल्यै समयमा खेती लगाउन नपाएको किसानको गुनासो छ। सिँचाइ, मल, बीउ र समयसमयमा प्राविधिक सल्लाहको सुनिश्चितता भए सहजरूपमा खेती गर्न सकिने किसान बताउँछन्। तीनै तहका सरकारले यसतर्फ समन्वयात्मक पहलकदमी लिनुपर्नेमा उनीहरूले जोड दिए। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend