शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गण्डकीमा ७९ हजार ८ सय ३८ हेक्टरमा रोपाइँ, तीव्र सहरीकरणले खुम्चिँदै क्षेत्रफल

बुधबार, साउन १४ २०८२
गण्डकीमा ७९ हजार ८ सय ३८ हेक्टरमा रोपाइँ, तीव्र सहरीकरणले खुम्चिँदै क्षेत्रफल

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ। घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको छ।

गण्डकी- हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८ सय ३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झन्डै ८५ प्रतिशत हो। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यसवर्ष ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ।

पछिल्लो आकडाअनुसार सबैभन्दा धेरै बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३ दशमलव १८ प्रतिशत, कास्कीमा ९० दशमलव ०१ प्रतिशत, नवलपुरमा ७८ दशमलव ७० प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६ दशमलव ०५ प्रतिशत, स्याङ्जामा ८१ दशमलव ८४ प्रतिशत, गोरखामा ७८ दशमलव ४० र पर्वतमा ८० प्रतिशत रोपाइँ भएको हो।

निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार अकासे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ। वर्षाले साथ दिएमा आगामी सातासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने छ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ।

गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो। घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो।

क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताए।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ। प्रदेशको चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झन्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend