सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

मंगलबार, साउन १३ २०८२
जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

कृषि विज्ञका अनुसार भदौ दोस्रो सातापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ।

जुम्ला- जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ। कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछिमात्र स्याउ टिप्न आग्रह गरेको हो।

कोही कसैले सूचनाविपरीत काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानूनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकता सबैमा असर पर्न जान्छ। यसको दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले जिल्लाका आठवटै स्थानीय तहका कृषि शाखा र यहाँका स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ। 

कृषि विज्ञका अनुसार भदौ दोस्रो सातापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ। परिपक्व र स्याउको रंग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताए।

जिल्लामा करिब १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउखेती गरेको तथ्यांक छ। पछिल्लो समय स्याउ खेतीको क्षेत्रसमेत विस्तार हुँदै गएको छ। जिल्लामा चार हजार बढी हेक्टर जमिनमा स्याउखेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ। 

त्यसैगरी तातोपानी गाउँपालिकाले पनि स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ १५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ। गाउँपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए। रासस


प्रकाशित : मंगलबार, साउन १३ २०८२१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend